नवनिर्वाचित सांसद खड्काले भने: यो जित जनताको हो, चुनावमा गरेका बाचा इमानदारीपूर्वक पूरा गर्छु

सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  नेपाली कांग्रेसका उम्मेदवार बिष्णुबहादुर खड्काले आफ्नो जितलाई आम मतदाताको जितको रूपमा लिँदै सम्पूर्ण जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

​विजयी भएलगत्तै  आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद खड्काले आफूलाई अमूल्य मत दिएर अनुमोदन गर्ने सुर्खेत-१ का सम्पूर्ण बुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरूप्रति कृतज्ञता प्रकट गरेका हुन्।

उनले लोकतन्त्रमा हारजित एउटा विधि र प्रक्रिया भए पनि यो विधिसम्मत जितको सम्पूर्ण हकदार जनता नै भएको स्पष्ट पारेका छन्।

​”निर्वाचनका बखत तपाईंहरूको बीचमा मत माग्दा मैले गरेका वचनबद्धता बमोजिम निष्ठा र इमानका साथ काम गर्दै जनताको बीचमा रहेर त्यो विश्वास पूरा गर्नेछु,” खड्काले भनेका छन, “आफ्नो अमूल्य मतदानद्वारा मलाई जितको ढोका खोलिदिएर तपाईंहरूले निरन्तर सेवा र विकासको बाटोमा हिँड्ने जुन मौका दिनुभएको छ, त्यसप्रति म अत्यन्तै आभारी छु, ऋणी छु।”

​सांसद खड्काले आफूलाई विश्वास गरेर उम्मेदवारको रूपमा एकल नाम सिफारिस गर्ने नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर-१ कार्यसमिति र त्यही निर्णयलाई स्वीकार गरी उम्मेदवार बनाउने पार्टीको केन्द्रीय नेतृत्वलाई पनि विशेष धन्यवाद ज्ञापन गरेका छन्।

​यसका साथै, उम्मेदवारी दर्ताको दिनदेखि मतदान र मतगणनाको सम्पूर्ण प्रक्रियासम्म अहोरात्र खटेर विजयको बिन्दुसम्म पुर्‍याउने पार्टीका सबै तहका नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्य र आम शुभचिन्तकहरूलाई उनले स्मरण गरेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न खटिने प्रमुख निर्वाचन अधिकृतलगायत सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई पनि उनले धन्यवाद दिएका छन्।

​”हामी सबै मिलेर लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक यात्रालाई अझ फराकिलो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने बाटोमा सँगसँगै क्रियाशील हुनेछौं,” खड्काले भनेका छन्।

​आफ्नो कार्यकालमा ‘समृद्ध क्षेत्र नं. १ सुर्खेत, समुन्नत कर्णाली र लोकतान्त्रिक नेपाल निर्माण’को महायात्रामा सफलता मिल्ने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको यात्रामा सबैलाई सँगै हातेमालो गर्न आह्वान समेत गरेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया