
जाजरकोट – नेपाली कांग्रेस जाजरकोटको रिक्त रहेको जिल्ला कोषाध्यक्ष पदमा प्रखर अधिवक्ता, पूर्व सञ्चारकर्मी तथा कांग्रेसका युवा नेता भीमबहादुर सिह मनोनित हुनुभएको छ।
जिल्ला सभापति वेदराज सिंहले पार्टीको विधान बमोजिम उहाँलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको हो। लामो समयदेखि कानुन व्यवसाय र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका उहाँको नियुक्तिले जाजरकोट कांग्रेसको सांगठनिक संरचना थप सुदृढ हुने विश्वास लिइएको छ।
पार्टी र नेतृत्वप्रति आभार
आफूलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएकोमा नवनियुक्त कोषाध्यक्षले सभापति, पार्टी पदाधिकारी, नेतागण तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गर्नुभएको छ। मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो:
“पार्टीले मलाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, यसले मलाई कांग्रेसप्रति थप जिम्मेवार र उत्तरदायी बनाएको छ। म आदरणीय सभापतिज्यू र सिङ्गो टिमसँग काँधमा काँध मिलाई सक्रियताका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
बहुआयामिक व्यक्तित्वका धनी उहाँ कोषाध्यक्षमा नियुक्त भएसँगै जिल्लाका नेता, कार्यकर्ता र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन्। युवा पुस्तामाझ लोकप्रिय र बौद्धिक छवि बनाएका उहाँको आगमनले पार्टीको आर्थिक पारदर्शिता र सांगठनिक परिचालनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
राराखबर । २०८२, २८ फाल्गुन बिहीबार