सुर्खेत,३१ साउन ।
निस्क्रिय अवस्थामा रहेका सुर्खेत, दैलेख र जाजरकोटका गरी ५३ सहकारी संस्था खारेज भएका छन् ।
डिभिजन सहकारी कार्यालयका अनुसार गत आवमा सुर्खेतका २३, दैलेखका १४ र जाजरकोटका १६ सहकारी खारेज भएका हुन् ।
डिभिजन सहकारीमा बार्षिक प्रतिवेदन नबुझाउने, लेखापरीक्षण नगराउने, साधारण सभा नगर्ने र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने संस्थाहरुलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत देवीप्रसाद पौड्यालले बताउनु भयो ।
खारेज गर्नु पूर्व डिभिजन सहकारीले सहकारी संस्थाहरुलाई जानकारी गराउने, सार्वजनिक सुचना गर्ने र तोकिएको समयमा सम्पर्कमा नआए पुनः ३५ दिने सुचना जारी गर्ने र त्यति गर्दा पनि सहकारी संस्थाहरु सम्पर्कमा नआए खारेज गर्ने प्रावधान रहेको अधिकृत पौड्यालले जानकारी दिनुभयो ।
गत आर्थिक बर्षमा सुर्खेतमा १२, जाजरकोटमा २६ र दैलेखमा १४ वटा नयाँ सहकारी दर्ता भएका छन् ।
३ जिल्लामा हाल विभिन्न प्रकृतिका गरी १ हजार ५७ सहकारी संस्थाहरु छन् ।
सुर्खेतका ६ सय १० सहकारीले गत आवमा ५१ करोड ४५ लाख ३४ हजार १ सय ४५ रुपैयाँ शेर पुँजी, १ अरब ३३ करोड ६८ लाख ४५ हजार बचत संकलन र २ अरब ५१ करोड १४ लाख ८४ हजार लगानी गरको डिभिजन सहकारी कार्यालय सुर्खेतले जनाएको छ ।
गत आवमा ४ सय ८९ सहकारी संस्थाले लेखापरिक्षण स्वीकृति लिएको मध्ये ३ सय २ सहकारीले मात्रै डिभिजन सहकारीमा प्रतिवेदन बुझाएको वताएको छ ।
साधारण सभा भएको १५ दिनभित्र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई १५ सय रुपैयाँसम्म जरिवाना गरिने सहकारी अधिकृत पौड्यालले जानकारी दिनुभयो ।
महिलाद्धारा सञ्चालित सहकारीहरु अन्य सहकारीभन्दा बढी क्रियाशिल रहेको पाइएको भन्दै उहाँले ३ जिल्लामा १ सय २३ सहकारी संस्था महिलाले संचालन गरेको उल्लेख गर्नुभयो ।
कार्यालयले गत आवमा सघन ६२ र नियमित १ सय ४६ सहकारीमा अनुगमन गरेको बताइएको छ ।
त्यस्तै, कार्यालयले काठमाण्डौंमा ३६, नेपालगञ्जमा १ सय १६ र सुर्खेतमा ८ सय ८१ जनालाई सहकारीसम्बन्धि विभिन्न तालिमहरु दिएको छ । सुर्खेत, दैलेख र जाजरकोटमा गरी १ करोडभन्दा बढी कारोबार गर्ने ५१ वटा र ५ करोडभन्दा बढी कारोबार गर्ने ११ वटा सहकारी संस्था रहेको कार्यालयले जनाएको छ ।
डिभिजन सहकारी कार्यालयका योजना प्रगति, अनुगमन तथा मूल्याङकन फाँटका भिमनिधी उपाध्यायका अनुसार तीन वटै जिल्लामा बचत तथा ऋण, कृषि, दुग्ध, कफि साना किसान, विद्युत, बहुउद्देश्यी, उद्यमी, घरेलु, शैक्षिक, सञ्चार, मौरी पालन, निर्माण मजदुर, यातायात मजदुर, जिल्ला सहकारी संघ, जडिबुटी लगायतका विभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेका छन् ।
राराखबर । २०७३, ३१ श्रावण सोमबार