अस्पतालको शैयावाट रबिनाले भनिन्, ‘छोरीको लागि बाँच्न चाहान्छु, बिन्ति छ, बचाई दिनुहोस्’

प्रकाश पन्त
सुर्खेत, २९ भदौ ।
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट थलिएकी जाजरकोटको दुर्गम गाउँकी रबिना सिंह बोहराले जीवन रक्षाको लागि सवैसँग सहयोगको याचना गरेकी छन ।
६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी उनले रकम अभावले थप उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गरेकी हुन । रोग पत्ता लागेदेखि अहिलेसम्म उनको उपचारमा ऋण सावट गरेको ५ लाख रुपैया खर्च भएको छ । थप उपचारको लागि अरु १० लाख रुपैया खर्च लाग्ने भएपनि उपचारमा समस्या भएको उनले गुनासो गरिन् ।
अस्पतालको शैयाबाट बिरामी रबिनाले निःशुल्क उपचारको व्यवस्था मिलाएर आफना ज्यान बचाई दिन सरकारसँग माग गरेकी छन । उनले भनिन, मर्छुकी भन्ने चिन्ताले सताई रहन्छ, एक्ली भए त मर्न पाएपनि हुन्थ्यो, तर म मरेपछि वर्षदिनकी छोरी कहाँ जाले ? के खाले ? वर्षदिनकी छोरीलाई काखमा लिएर उनले गहभरी आँसु पादै भनिन, म छोरीको लागि बाँच्न चाहान्छु । मलाई बचाउन सहयोग गरिदिनुहोस, दुई हात जोडी विन्ति छ । ६ महिनासम्म नियमित उपचार गर्दा पनि रोग निको नभए वोन म्यारो नै प्रत्यारोपन गर्नु पर्ने अस्पतालले भनेको उनले उल्लेख गरे । अस्पतालले वोन म्यारो प्रत्यारोपन गर्न ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए । उनले भने, अहिलेसम्म उपचार गर्दा खर्च भएको ५ लाख रुपैयाको लागि घरजग्गा बच्नु पर्यो भने, त्यति ठुलो रकम कसरी जुटाउने ? रातदिनै चिन्ताले पिरोल्ने गरेको छ । ५ लाख रुपैया जुटाउन त घरजग्गा, पशुचौपाय बेच्न वाध्य भए, पछिल्लो पटक दिदीको घरको भैसी बेचेर रकम जुटाए तर अब छिमेकीसँग ल्याएको ऋण कसरी तिर्ने र वाँकी उपचार कसरी गर्ने ? उनले थपे ।
उपचार खर्च जुटाउनको लागि बिरामी श्रीमतिलाई काठमाडौमा छाडेर गोरखाको ध्याम्पे सालमा गएर ४ महिनासम्म घर निर्माणको काम पनि गरिरहेको उनले बताए । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –४ बाउसेखोला गाउँका उनीको परिवार आर्थिक रुपमा एकदमै विपन्न छ ।
श्रीमतिको उपचारको लागि सहयोग माग्दै नगरपालिकादेखि मन्त्रालयसम्म धाए तर, अहिलेसम्म कसैले पनि सहयोग नगरेको उनले वताए । उनले भने, उपचारको लागि सहयोग त सबैले गछौ भन्छन, तर गदैनन् । नेतादेखि, विभिन्न निकायको दैलामा गए अहिलेसम्म खाली आश्वासन मात्र पाए, कसैवाट सहयोग पाइन । रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले नियमित उपचार गर्दा पनि ६ महिनाभित्र ठिक नभए रबिनालाई वोन म्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए । उनले भने, ४० वर्षभन्दा मुनीकाको उपचार भनेकै वोन म्यारोको प्रत्यारोपन हो, विरामीले उपचार खर्च व्यर्होन सक्छ कि सक्दैन त्यसमा भरपर्छ । साधारण औषधी चलाएर, उपचार सम्भव छैन । डा. श्रेष्ठले वोन म्यारो प्रत्यारोपनको लागि अस्पतालले केही रकम छुट गरेपनि पुरै निशुल्क भने गर्न नसक्ने वताए । उनले भने, वोन म्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैयासम्म लाग्छ ।
डाक्टर केएन पौडेलले एप्लाटिक एनिमिया जटिल किसिमको समस्या भएको बताए । उनेले भने, बोन म्यारोमा समस्या भएपछि हड्डीभित्र नयाँ रक्त कोषहरुको निर्माण हुदैन, त्यसैले समयमै उपचार गर्न नसके विरामीको ज्यानै समेत जान सक्ने खतरा हुन्छ । समयमै उपचार गरे समस्या समाधान हुन्छ ।
२०७३ साल चैत्रको पहिलो सातातिर रबिना एक्कासी विरामी भएकी थिइन । सुरुमा उनलाई टाउको दुख्ने, स्वास प्रस्वास बढने, शरीर धेरै तातिने, हातखुट्टा गल्ने समस्या देखिएको थियो । गाउँकै नीजी मेडिकलमा ५ दिनसम्म उपचार गदै पनि सन्चो नभएपछि थप उपचारको लागि मेडिकल कलेज नेपालगंज आएकी थिइन । रोग पत्ता नलागेपछि मेडिकल कजेल नेपालगंजले रबिनालाई शिक्षण अस्पतालमा रिर्फर गरेको थियो । शिक्षण अस्पतालमा उपचार थालेको २६ दिनपछि मात्र उनलाई एप्लाटिक एनिमिया भएको पत्ता लागेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया