कालिकोटका ९७ वटा उप–आयोजना हस्तान्तरण

कालिकोट, २४ भदौ ।
उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका कालिकोटका चारवटा स्थानीय तहलाई ९७ वटा उप–आयोजनालाई हस्तान्तरण गरेको छ । आइतवार सदरमुकाम मान्मामा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह, सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनालाई हस्तान्तरण गरिएको हो ।


आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलालीले बिस्तृत विवरणसहित खाँडाचक्र नगरपालिकालाई ३७, तिलागुफा नगरपालिकालाई ४३, कालिका गाउँपालिकालाई ११ र महावै गाउँपालिकालाई ६ वटा उप–आयोजना हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण गरिएका उप–आयोजनामा स्याउका ४३, बेमौसमी तरकारीका ३२ वटा र खसीवोका मूल्य श्रृंखलाका २२ वटा रहेका छन ।


आयोजनाले सहकार्य गरेका मध्ये उप–आयोजनामा अति गरिव २० प्रतिशत, मध्यम गरिव ५० प्रतिशत, सामान्य गरिव २० प्रतिशत र सम्पन्न १० प्रतिशत किसान समेटिएका थिए । आयोजनाले चारवटा मुल्य श्रृंखलामार्फत ९७ वटा उप–आयोजनामा रहेका १ हजार ८ सय १२ जना किसानलाई ७ करोड ६१ लख रुपैया अनुदान सहयोग गरेको थियो । त्यसमध्ये २०७५ साल असार मसान्तसम्म ६ करोड १९ लाख रुपैया भुक्तानी दिइसकेको सेवा बजार सुदृढिकरण विज्ञ पुलामीले जानकारी दिनुभयो ।
आयोजनाले कालिकोटमा स्याउ, बेमौसमी तरकारी र खसीबोका मुल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरेको थियो । उप–आयोजनामार्फत १ हजार ८ सय १२ घरधुरीका किसानको आयस्तर आधार वर्षको तुलनामा ३५ हजार ५ सय ६३ रुपैयाले बढेको छ । आधार वर्षमा प्रतिघरधुरी ३४ हजार ३ सय ३५ रुपैया रहेको आम्दानी बृद्धि भएर आयोजना सम्पन्न हुँदा ६९ हजार ८ सय ९८ रुपैंया पुगेको पुलामीले बताउँनुभयो । उहाँले आधार वर्षको तुलनामा स्याउमा ३० हजार ४ सय ४६, खसीबोकामा १७ हजार ९० र बेमौसमी तरकारीमा ६४ हजार ७ सय ७४ रुपैयाले आम्दानी बढेको छ ।

आयोजना लागु भएपछि कालिकोटका किसानको आयस्तरसगै उत्पादनमा पनि बृद्धि भएको छ । आधार वर्षमा १ हजार २ सय ३० मेट्रिक टन रहेको उत्पादन बढेर आयोजना सम्पन्न हुँदा दुई हजार ८८ मेट्रिक टन पुगेको छ भने बिक्री परिमाण पनि बृद्धि भएको छ । आधार वर्षमा प्रति वर्ष ९ सय ५२ मेट्रिक टन रहेकोमा आयोजना सम्पन्न हुँदाको बर्ष विक्री परिमाण बढेर १ हजार ७ सय ४७ मेट्रिक टन पुगेको छ ।


उप आयोजना हस्तान्तरण कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले विपन्न किसानको जीवनस्तरमा सुधार ल्याउन महत्वपूर्ण सहयोग गरेको बताउँनु भयो ।


गोष्ठीमा विभिन्न किसान, व्यवसायी, व्यापारी र निजी सेवा प्रदायकहरुले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहमा आएको परिवर्तन सम्वन्धी अनुभव र सिकाई सुनाउनु भएको थियो ।


आयोजना सम्पन्न गोष्ठीको समापन गदै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीले आयोजनालाई कार्यन्वयन गर्न सहयोग गर्ने किसान, समुह, सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति आभार प्रकट गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया