अभिभावक, पूर्वविद्यार्थी र शिक्षक/कर्मचारीको सहयोगबाट बन्दै, सुविधायुक्त विद्यालय भवन

सुर्खेत, २७ मंसिर ।
सुर्खेतको कालागाँउमा रहेको एसओएस हर्मन माइनर विद्यालयका अभिभावक, पूर्वविद्यार्थी र शिक्षक/कर्मचारी आधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण गर्न कसिएका छन । एसओएस बालग्राम सुर्खेतले थालेको अभियानलाई साथ दिदै उनीहरु आफै विद्यालय भवन बनाउन कसिएका हुन ।


नौ कोठे नयाँ भवन निर्माण गर्न एसओएसका पूर्वविद्यार्थीले दश लाख, अभिभावकले ३० लाख र शिक्षक/कर्मचारीले दश लाख रुपैया सहयोग गरेका छन । विद्यालय भवन बनाउन पूर्वविद्यार्थी, अभिभावक र शिक्षक/कर्मचारी आफै सक्रिय भएपछि कर्णाली प्रदेश सरकार, एसओएस नेपाल र बीरेन्द्रनगर नगरपालिकाले पनि उनीहरुलाई साथ दिएका छन । एसओएस नेपालले ४० लाख, कर्णाली प्रदेश सरकारले २० लाख र बीरेन्द्रनगर नगरपालिकाले दश लाख रुपैया सहयोग गर्न लागेको विद्यालयका सहायक प्रधानाध्यापक तथा भवन निर्माण आर्थिक संंकलन समितिका संयोजक हरिहर बस्नेतले बताए ।


विद्यालय भवन निर्माणमा एक करोड ३० लाख रुपौया खर्च लाग्नेछ । रकम अपुग रकम थप सहयोग गर्न आफुहरु तयार रहेको पूर्वविद्यार्थी डाक्टर नवराज केसीले बताए । प्रदेश सरकार, एसओएस नेपाल र स्थानीय सरकारले पनि सघाउने भएपछि आफुहरु थप उत्साहित भएको पनि उनले बताए । भवन निर्माणको लागि व्यक्तिगत रुपमा एक लाख दश हजार रुपैया सहयोग गरेका डाक्टर केसीले भने, एसओएस सुर्खेतको यो मोडेल अरु विद्यालयको लागि पनि प्रेरणादायी हुनेछ ।


आउँदो असार महिनाभित्र निर्माण गरिसक्ने योजनासहित विद्यालय भवन निर्माण सुरु थालिएको छ । आगामी चैत्र महिनाभित्र तीन कोठा निर्माण गरेर कक्षा संचालन गर्ने र वाकी भवन असार महिनाभित्र सम्पन्न हुने विद्यालयले जनाएको छ । प्रदेश सरकार, एसओएस नेपाल, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक/कर्मचारी र नगरपालिकाले दिएको रकमबाट ठेक्कामा नभई एसओएस आफैले अमानतको आधारमा भवन निर्माण गर्ने जनाएको छ । विद्यालयमा कक्षा कोठाको अभाव र विद्यार्थीको चाप बढी हुन थालेपछि विद्यालय भवन निर्माणको लागि यो अवधारण ल्याएर अभिभावकदेखि प्रदेश सरकारसम्मलाई सहयोगको लागि आग्रह गरिएको एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले बताए । यो काम एसओएसको एक्लो प्रयासबाट मात्र सम्भव हुने थिएन, उनले भने, हाम्रो अभियानलाई सवैले साथ दिएकोले अव आधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण गर्ने हाम्रो सपना साकार हुदैछ ।


नयाँ भवनमा कक्षा ११ र १२ को विज्ञान संकाय र वाकी कोठमा अरु कक्षाको पढाई हुनेछ । यो विद्यालय कर्णाली प्रदेशकै अव्वल विद्यालय पनि मानिन्छ ।
नयाँ भवनको शिलन्यास
नयाँ विद्यालय भवनको विहिवार शिलन्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले नयाँ विद्यालय भवनको शिलन्यास गरेका छन । भवन शिलन्यास कार्यक्रममा उनले कर्णाली प्रदेशबाट एउटा नयाँ कामको थालनी भएको बताए । यो आफैमा राम्रो काम हो, उनले भने, विद्यालय भवन निर्माणमा पैसाको कमी हुदैन प्रदेश सरकारबाट सक्दो सहयोग हुन्छ ।


कार्यक्रममा  प्रदेश सभा सासद ठम्वर बिष्टले यो मोडेल दुर्गम गाउँबस्तीका विद्यालय भवन निर्माणमा लागु गर्नु पर्ने आवश्यकता औल्याए । एसओएस नेपालका राष्टिय निर्देश इश्वरीप्रसाद शर्मा, बीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष निलकण्ठ खनाल, प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी, विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर ओलीलगायतले समेत भवन निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले विद्यालयको नयाँ भवन निर्माणको लागि आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्नेप्रति आभार प्रकटगदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयको भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने अभिभावक, पूर्वविद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया