मौरी घारमा मर्न थालेपछि विज्ञटोली जुम्लामा

सुर्खेत । जुम्लाका किसानले पालेका मौरी घारमा मर्न थालेपछि अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला पुगेका छन् । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जुम्ला पुगेका हुन्।

टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ ।

मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएका छ । सेराना जातको मौरी जुम्लाका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।

व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ । सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ ।

आज गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले बताएका छन् ।

अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया