
सुर्खेत- केही दिनयता सुर्खेत उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढपक्कै ढाकेको छ।
फेरिएको मौसम र बढ्दो प्रदूषणको प्रत्यक्ष असर मानिसहरूको स्वास्थ्यमा देखिन थालेको छ।
सुर्खेतका अस्पतालहरूमा एलर्जी, दम, छाती दुख्ने र आँखा पोल्ने समस्या भएका बिरामीहरूको संख्यामा वृद्धि भएको छ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले फेसवुक मार्फत अहिलेको मौसमी अवस्था र चरम वायु प्रदूषणको मिश्रण स्वास्थ्यका लागि निकै घातक रहेको बताउनुभएको छ।
उहाँले नागरिकहरूलाई विशेष सावधानी अपनाउन अपिल गर्नुभएको छ।
डा. केसीले बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, प्रशस्त पानी पिउन, सुख्खापन र प्रदूषणबाट छालालाई जोगाउन मोइस्चराइज क्रिम वा लोसनको प्रयोग गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन सुझाव दिनु भएको छ ।
डा. केसीले आगामी दिनमा यस्ता वातावरणीय संकट दोहोरिन नदिन ठोस सावधानी र कडा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ।
पाँच सुझाव
मास्क: बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुहोस्।
पानी: शरीर हाइड्रेटेड राख्न प्रशस्त पानी पिउनुहोस्।
छाला: सुख्खापनबाट बच्न मोइस्चराइज क्रिम प्रयोग गर्नुहोस्।
सतर्कता: अनावश्यक रूपमा घरबाहिर ननिस्कनुहोस्।
परामर्श: समस्या देखिए ढिलो नगरी चिकित्सकलाई देखाउनुहोस्।
राराखबर । २०८२, २६ फाल्गुन मंगलवार