सुर्खेत, २९ चैत्र ।
रोजगारका लागि खाडी मुलुक साउदी अरव पुगेका एक युवकले मेहनत गरेर कमाएको पैसाले जाजरकोटको दुर्गम गाउँमा कम्प्युटर शिक्षा पुर्याउने अभियान थालेका छन । नलगाड नगरपालिका –४ लहँका युवा नरेशकुमार रावलले पहिलो पटक दुर्गम गाउँमा कम्प्युटर शिक्षा पुर्याउने अभियान थालेका हुन ।
पछिल्लो समयमा आधुनिक प्रविधि भित्रिँदै गएपछि गाउँका युवायुवतीलाई कम्प्युटर शिक्षा दिने उद्देश्यले कम्प्यूटर इन्ष्टिच्यूट खोलेको उनले बताए । इन्ष्टिच्यूट संचालनमा आएपछि कम्प्युटर सिक्न महंगो शुल्क तिरेर वाहिरी जिल्ला जाने नलगाड नगरपालिकाका युवा युवतीलाई निकै राहात भएको छ । 
करिव दश लाख रुपैयाको लगानीमा स्थापना भएको नलगाड कम्प्युटर इन्ष्टिच्यूटमा कम्प्युटर सम्वन्धी वेसिक कोर्ष, डिप्लोमा कोर्स, हार्ड वयर र एड्भान्स कोर्षहरु सिकाईने इन्ष्टिच्यूटका संचालक नरेशकुमार रावलले बताए । नलगाड नगरपालिका ७ दल्लीमा रहेको कम्प्युटर इन्ष्टिच्यूटमा दैनिक ५० जनाले कम्प्युटर पढन सक्ने पनि उनले बताए ।
आफ्नौ गाउँमै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ साउदी अरेवियाको बाकी भिषा त्यागेर कम्प्युटर इन्ष्टिच्यूट खोलेको पनि उनले बताए । कम्प्युटर इन्ष्टिच्यूट व्यापारको लागि नभई सेवा र सुविधाको लागि खोलेको उल्लेख गदै उनले गाउँका युवायुवती कम्प्युटर शिक्षाकै लागि सुर्खेत, नेपालगंज, काठमाडौ लगायतका सहरमा जानु पर्ने वाध्यताबाट मुक्त हुने विश्वास पनि व्यक्त गरे ।
राराखबर । २०७४, २९ चैत्र बिहीबार