जाजरकोट, जेठ २ – आर्थीक अभावमा माओवादीका एक पूर्व लडाकुले टाउको रहेको गोली अझै निकाल्न सकेका छैनन् । १२ वर्ष पहिले गोली लागेर घाइते भएका अर्छानी–१ गैराभौता जाजरकोटका लिलाराम जैसीले आफ्नो टाउकोमा रहेको गोली निकाल्न नसकेका हुन् ।
आर्थीक अभावमा जैसीको टाउको तथा दायाँ खुट्टाको जोर्नी र शरीरको दायाँ पेटमा गोली छ । बसेपछि उठन नसक्ने र उठेपछि बस्न नसक्ने जैसी लामो समय यताउता हिँडडुल गर्नसमेत सक्नुहुन्न । गोलीकै कारण जैसी शारीरिक रुपमा अशक्त भएका हुनुभएको छ । तत्कालीन माओवादी जनासेनाको छैटाैं डिभिजन, पिलि स्मृति बिग्रेड, १० नम्बर बटालिनका कम्पनी कमाण्डर रहेका जैसीले बर्दियाको रम्बापुर, गणेशपुर, कपिलवस्तुको तौलिहवा, सल्यानको दमाचौरमा, जुम्लाको लडाईँमा घाइते भएको र अहिलेसम्म पनि टाउको तथा खुट्टा र शरीरको दायाँ पेटमा रहेको गोली निकाल्न नसकेको बताउनुभयो ।
टाठाबाठाले पहुँचको प्रयोग गरेर उपचार गराएको तर आफ्नो पहुँचको नेता नहुँदा उपचार नभएको उहाँको गुनासो छ । २०५६ मा भूमिगत भएका जैसीले ३३ वटा लडाईँमा सहभागी बताउनुभयो ।
जिल्लाका सांसद तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत लाई दुई पटक उपचारको व्यवस्था मिलाई दिन निवेदन दिए पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।
युद्धकालमा आफ्ना नेता तथा कमिसार रहेका मन्त्री बस्नेतले धेरै पटक उपचारको व्यवस्था गर्ने वचन दिएको तर अहिले कुनै सुनुवाई नभएको जैसीको भनाई छ ।
गाँउमा भएकोे थोरै जमिन बन्धकी राखेर पैसा निकाल्न खोज्दा कसैले नदिएको उहाँले बताउनुभयो । शरीरको गोली निकाल्दा आफूलाई नयाँ जीवन मिल्ने भन्दैै जैसीले सहयोगको लागि अपील गरेका छन् ।
राराखबर । २०७३, ३ जेष्ठ सोमबार