काठमाडौ- नेपाल एथलेटिक्स संघको अध्यक्षमा पुर्न: राजीव विक्रम शाहलाई निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार काठमाडौमा भएको साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । उनी तेस्रो पटक एथलेटिक्स संघको अध्यक्ष भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष शाहले एथलेटिक्स संघमा आफुले गरेको राम्रो कामको मूल्याङकन गर्दै तेस्रो पटक अध्यक्ष बनाएकोमा सवैप्रति आभार व्यक्त गरेका छन् ।
उनले भने, मैले मेरो वुद्धि र विवेकले भ्याससम्म इमानदारीपूर्वक नेपाल एथलेटिक्स संघलाई विश्व सामु चिनाउने प्रयास गरिरहेको छ । त्यसैको फलस्वरुप मलाई तेस्रो पटक साथीहरुले अध्यक्षमा निर्विरोध निर्वाचित गर्नु भएको छ ।
संघको नेतृत्व हात पार्न कतिपय व्यक्तिले आफु विरुद्ध आधारहिन आरोप र भ्रम फैलाउन खोजेकोमा उनले दुख व्यक्त गरे ।
संघको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् । महासचिवमा संञ्जिव तुलाधर, राधाकृष्ण विष्ट सचिव र मोहनबहादुर घले कोषाध्यक्ष भएका छन्मा ।
१७ सदस्यीय केन्द्रीय कार्य समितिको सदस्यमा अन्जु चौधरी, दीलबहादुर बम, नन्दु काउचा, अनिरुदैकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी चयन भए ।
सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी उतिवेलै महासचिवमा मनोनीत गरेको घोषणा गरेका थिए ।
साधारण सभामा अन्तर्राष्ट्रिय प्रतिनिधिमा एसियाली एथलेटिक्स संघ (एएए) का महासचिव ए शुग्गुमारान र एएएका कम्पिटिसन कमिसनका सदस्य सिके भाल्सन सहभागी भएका थिए ।
बुधबारै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले साधारणसभाको उद्घाटन गरेका थिए ।
राराखबर । २०८२, १५ श्रावण बिहीबार